बैतडी-बैतडीको प्रसिद्ध वनारसी धाममा भोली (शुक्रबार) भब्य जात्रा लाग्ने भएको छ । हरेक बर्ष माघ शुक्ल पक्षको प्रतिपदाबाट पूजाआजा शुरु भइ माघ शुक्ल दशमीका दिन वनारसी धाममा जात्रा लाग्ने गर्दछ ।
अन्य मन्दिरमा ब्राम्हण समुदायका मानिस मात्रै पूजारी हुने भएपनि यो मन्दिरमा भने दलित समुदायका पूजारी छन् ।दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्ने चलन रही आएको छ ।
वनारसी मन्दिरमा परापूर्वकाल देखि दलित समुदायका पूजारीले पूजाआजाको काम गर्दै आएका छन् ।यसले जातीय भेदभाव गर्नुहुँदैन भन्ने कुरा सिकाएको पण्डित गणेशप्रसाद पन्तले बताउनुभयो ।उहाँले दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै जातजातीका दर्शनार्थीहरुले प्रसाद ग्रहण गर्ने चलन रहेको बताउनुभयो ।
वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरिएकाले पछिल्लो समयमा यहाँ दर्शन गर्नेहरुको संख्या बढ्दै गएको पण्डित पन्तले बताउनुभयो ।
जात्रामा बैतडीका मात्रै नभएर टाढाका भक्तजनहरुको समेत सहभागिता रहने गरेको छ । सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत दर्शनका लागि जात्रामा आउने गरेको स्थानियहरुले बताएका छन ।
पछिल्लो समय वनारसीधामलाई विश्वनाथधामका रूपमा विकास गर्ने काम पनि सुरु भएको छ। वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका रूपमा रहेको धार्मिक पन्तको भनाइ छ। मानसखण्ड पुराणमा सरयु नदीको किनारमा विश्वनाथ ज्योतिर्लिङ्ग अवस्थित रहेको उल्लेख भएको र पौराणिक सरयु अर्थात् सुर्नया नदीको किनारमा रहेको वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग भएको उनले सुनाए।
सोही समयदेखि वनारसी देवतालाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको किम्बदन्तीे छ ।वनारसी मन्दिरमा १२ औं शताब्दीबाटै जात्रा हुने गरेको स्थानीयबासी बताउँछन् ।देवता र दैत्यबीच लडाईँ हुँदा खोपरे नामक दैत्यलाई वनारसी देवताले मारेको किम्वदन्ती रही आएको छ ।
मेलाको अवसरमा पाटन नगरपालिकाले अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।यही माघ २५ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। पालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, सेवा केन्द्र, र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा लागू हुनेछ। नगर प्रमुख गौरी रावलद्धारा हस्ताक्षरित सूचनामा बनारसी धाममा मेला लाग्ने भएकाले बिदा दिइएको उल्लेख छ ।