बैतडी: पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री जवलपुर माद्यमिक विद्यालय शैलोेडाले ७८ औं बार्षिकोत्सव तथा अभिभाबक दिवस सोमबार सम्पन्न गरेको छ। कार्यक्रम मेलौली नगरपालिका नगर प्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।
उक्त समारोहमा पञ्चेश्वर गाउँपालिका वडा न ३ का वडा अध्यक्ष मीन बहादुर चन्द, पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत महेश पार्की, शिक्षा अधिकृत माहामल सिह घटाल, नवप्रभात सयुक्त क्याम्पस कुलाउका प्रमुख मोती सिंह मंगोला र कुलाउ मावि कुलाउका प्रधानाध्यापक धनवीर सार्की विशिष्ट अतिथी रहेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रधानाध्यापक हजारी दत्त बागले १ करोड ३२ लाख ६९ हजार ७ सय १६ रुपैंया बरावरको विद्यालयको बार्षिक प्रतिवेदन बारे जानकारी गराउनु भएको थियो।
उहाँले विद्यालय स्थापना कालदेखि विद्यालय सञ्चालन गरेर सहयोग पुर्याउने स्वर्गीय भैसक्नु भएका देखि हालसम्म रहनुभएका सम्पूर्ण प्रति स्मरण गर्दै विद्यालयका गतिविधिका बारेमा र विद्यार्थीका समस्याका बारेमा उजागर गर्नुभएको थियो।
विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा अभिभाबकको पनि उत्तिकै भूमिका हुने बताउँदै उहाँले आ आफ्नो ठाउँ बाट सहयोग र रेखदेख जरुरी रहेको बताउनुभयो। कार्यक्रममा उत्कृष्ट विद्यार्थी हरुलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विविध अक्षयकोष दाताको सहयोग रकम बाट विधा अनुसार उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण समेत गरिएको थियो।
कार्यक्रममा वक्ताहरुले विद्यालयको आवश्यक भौतिक सामग्री सहयोग गर्ने लगायत शैक्षिक गुणस्तरमा आफूहरुले सक्दो सहयोग गर्ने जानकारी गराउनुभएको थियो। कार्यक्रम समापन सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बहादुर चन्दले शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षक अभिभाबक विद्यार्थी सबैले जोड दिँदै सहयोग गर्ने प्रति आभार प्रकट गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै विद्यालयको भावी योजनाहरूबारे समेत जानकारी गराइएको थियो।