बैतडीमा नेपाल किसान महासंघको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भट्ट

बैतडीको पाटनमा नेपाल किसान महासंघको जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले भानदेव भट्टको अध्यक्षतामा २३ सदस्यीय नयाँ समिति गठन गरेको छ।

नवनिर्वाचित अध्यक्ष भानदेव भट्टले किसान महासंघले वास्तविक किसानहरूको समस्या उजागर गर्दै उनीहरूको हकहितका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि क्षेत्रको विकासका लागि नीति निर्माणमा महासंघको प्रभावकारी भूमिका रहने उल्लेख गरे।

नेपाल किसान महासंघले किसानहरूको अधिकार संरक्षण, कृषि उत्पादन वृद्धिका लागि आवश्यक नीतिगत सुधार तथा आधुनिक प्रविधि प्रयोग प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। साथै, महासंघले किसानहरूको उचित बजार सुनिश्चितता, मल बीउ व्यवस्थापन, सिंचाइ सुविधा, वित्तीय पहुँच, कृषि बिमा तथा अनुदान प्राप्तिमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

यस अधिवेशनले बैतडीका किसानहरूको समस्यालाई प्राथमिकतामा राख्दै स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर व्यावसायिक कृषि प्रणाली विकास गर्न ठोस योजना निर्माण गर्ने लक्ष्य लिएको छ।

कृषि क्षेत्रको सशक्तीकरणका लागि किसान महासंघले निरन्तर रूपमा सचेतना अभिवृद्धि, नीति पैरवी तथा अधिकार स्थापनाका लागि संघर्ष गर्ने प्रतिज्ञा गर्दै अधिवेशन सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज भट्ट उपस्थित रहेका थिए। बिशिष्ट अतिथिका रूपमा किसान महासंघ केन्द्रीय प्रतिनिधि उमा खत्री तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.