बैतडी-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ शिक्षा ऐन चाँडै आउने बताएका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८औं जिल्ला अधिवेशनको उद्दघाटन गर्दै मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार लागिरहेको बताए। शिक्षा ऐनमा सबै शिक्षकहरुका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन ल्याउन लागेको उनले बताउनुभयो ।
शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने उनले दाबी गरे। उनले भने, ‘नयाँ व्यवस्था अनुसार नयाँ शिक्षा ऐन आवश्यक छ । यसको लागि सरकार लागिपरेको छ। शिक्षा क्षेत्रलाई सुधार गर्ने गरी नयाँ शिक्षा ऐन आउँछ।’
अहिले एमाले र कांग्रेस मिलेर राष्ट्रिय आवश्यकताका आधारमा सरकार निर्माण गरिएको मन्त्री भण्डारीको दाबी छ। सरकारले अध्यादेशमार्फत ल्याएका कानुनहरु अहिलेको आवश्यकता भएकाले संसदबाट पारित गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एकभएर अघि बढ्नुपर्नेमा मन्त्री भण्डारीको जोड थियो। अर्थतन्त्रमा सुधार आएमात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्नेमा उनले जोड दिनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको अधिवेशनमा मन्त्री भण्डारी प्रमुख अतिथी रहेका थिए। कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय अध्यक्ष विष्णु प्रसाद भण्डारी विशिष्ट अतिथी रहेका थिए। अधिवेशनले नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।