बैतडीको एक मन्दिरमा २१ फिटको राममूर्ति निर्माण, चैत २४ मा प्राण प्रतिष्ठा हुने

बैतडी: चन्दा संकलन गरेर बैतडीको दोगडाकेदार गाउँपालिका–६,पन्ज्युनयाँस्थित श्रीराम मन्दिरमा भगवान श्रीरामको २१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ। देश तथा विदेशबाट गरेर पाँच लाख चन्दा संकलन गरेर मूति निर्माण गरिएको राममूर्ति निर्माण समितिका अध्यक्ष विरसिंह कार्कीले बताउनुभयो।

उहाँले भन्नुभयो,“ देश तथा विदेशबाट चन्दा संकलन गरेर २१ फिट अग्लो राममूर्ति निर्माण गरेका छौं। मन्दिरको बाह्य रङ्गरोगन लगायतका अन्य निर्माण कार्यहरू चलिरहेका छन्। ”

यही चैत २४ गते रामनवमीको दिन भगवान श्रीरामको मूर्तिको औपचारिक उद्घाटन तथा प्राणप्रतिष्ठा गरिने समितिले जनाएको छ। यस अवसरमा परम्परागत रूपमा ठूलो मेला लाग्नेछ, जसमा बैतडी, दार्चुला लगायत सुदूरपश्चिमका विभिन्न स्थानबाट भक्तजनहरूको सहभागिता रहनेछ।

धार्मिक रूपमा महत्वपूर्ण यस स्थलको उल्लेख स्कन्द पुराणमा समेत पाइन्छ। जमाडी र चौलानी नदीको संगमस्थल बैतडीको साविक ढीक क्षेत्र, हालको दोगडाकेदार गाउँपालिका,डिलाशैनी गाउँपालिका, साथै दार्चुलाको शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाका भक्तजनहरूको आस्थाको केन्द्र रहेको यो स्थानमा परापूर्वकालदेखि नै रामनवमीका अवसरमा भव्य मेला लाग्दै आएको छ।

स्कन्द पुराणमा समेत उल्लेख भएको यो स्थानमा परापूर्व कालदेखी रामनवमीको दिन ठूलो मेला लाग्ने गरेको मूर्ति निर्माणका प्रस्तावक तथा समितिका सदस्य नैनसिंह गोयलाले जानकारी दिनुभयो। यहाँ तिर्थ,वर्त,विवाहलगायतका विभिन्न धार्मिक तथा पैतृक कार्यहरु सम्पन्न हुँदै आएका छन्।

रामन्दिर क्षेत्रमा निकट भविष्यमा होमकुण्ड पनि निर्माण गर्ने योजना रहेको समितिका अध्यक्ष कार्कीले बताउनुभयो। राममन्दिर क्षेत्र परिसर फराकिलो गर्न स्थानीय बलदेवसिंह कार्की,कृष्णसिंह कार्की,भानसिंह कार्की र गणेशसिंह कार्कीले जग्गादान गर्नुभएको छ।

श्रीराम मन्दिरमा मूर्ति निर्माण लगायतका कार्यहरूमा स्वेच्छाले दान गर्न इच्छुक महानुभावहरूले नेपाल बैंक लिमिटेडको क्युआर कोड स्क्यान गरेर सहयोग गर्न सक्नेछन् अथवा राममूर्ति निर्माण समितिका अध्यक्ष बिरसिंह कार्की (९८४८८३१२७३)  सँग सम्पर्क गर्न सक्ने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.