सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले फिर्ता लिएको छ। शुक्रबार पार्टीको संसदीय दल बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको नाउपाका संसदीय दलका नेता धनश्याम चौधरीले जानकारी दिए।
मुख्यमन्त्री कमल बहादुर शाहले नाउपाका मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदमुक्त गरेपछि राजनीतिक तरंग उत्पन्न भएको थियो। कृषकका लागि अनुदानमा वितरण गरिने पावर टिलर (हाते ट्र्याक्टर) सम्बन्धी कार्यक्रममा अनियमितता भएको आरोप लागेपछि चौधरीलाई बर्खास्त गरिएको थियो।
तर नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीले मन्त्रीको जबर्जस्ती बर्खास्ती अपमानजनक रहेको ठहर गर्दै पार्टीलाई संघ र प्रदेश दुवै तहमा प्रतिपक्षमा बस्न निर्देशन दिएका थिए। अध्यक्षीय निर्देशनअनुसार शुक्रबार संसदीय दल बैठकबाट समर्थन फिर्ता लिने निर्णय भएको हो।
यद्यपि, समर्थन फिर्ता लिने निर्णयमा पार्टीभित्र विभाजन देखिएको छ। सुदूरपश्चिम प्रदेशसभामा रहेका नाउपाका सात सांसदहरूमध्ये तीन जना—लक्ष्मणकिशोर चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी—समर्थन फिर्ता गर्न विपक्षमा उभिएका छन्। संसदीय दलको आजको बैठकमा तीन सांसद अनुपस्थित रहेको सांसद खुसीराम चौधरीले बताएका छन्।