बैतडीको शिवनाथ गाउँपालिका–०२ शर्माली बजारमा पहिलो पटक बिजुली बलेको छ। नेपाल विद्युत प्राधिकरण बैतडी बितरण केन्द्र र गाउँपालिकाको समन्वयमा बिजुली बलेको हो।
तल्लो स्वराड क्षेत्रका प्रमुख बजारहरु मध्ये दुर्गम क्षेत्रमा रहेको शर्माली बजारमा अहिले बिजुली बलेको गाउँपालिका अध्यक्ष कर्णसिह साउदले बताउनुभयो। बिजुली बलेसँगै स्थानीय अँध्यारोबाट मुक्त भएका छन्। शर्मालीका स्थानीय यो भन्दा पहिला घामबाट चल्ने सोलार, टुकी, झरोबाट उज्यालो बनाउने गरेका थिए।
बिजुली बलेसँगै मिल, कुटानी पिसानी र पेलानी मिल जडान गरेर सञ्चालन गर्न सजिलो हुने गाउँपालिकाले जनाएको छ। शर्माली बजारमा बिजुली बाल्न भुमिका खेल्ने सम्पूर्ण निकायलाई गाउँपालिका अध्यक्ष साउदले धन्यबाद दिनुभएको छ।
शिवनाथ गाउँपालिकाको शर्माली र साउगडामा दुईवटा ट्रान्सफर्मर राखेर ती क्षेत्रहरुमा विद्युत विस्तार गरिएको बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताउनुभयो । धेरै घरधुरीमा मिटर जडान कार्य भइरहेकाले सबै ठाउँमा विद्युत विस्तार गरिने उनले बताउनुभयो ।
बैतडीमा पूर्ण विद्युतीकरण कार्यक्रम सञ्चालनमा रहेकाले विद्युत पहुँच बाहिर रहेका सबै ठाउँमा विद्युत विस्तार गर्ने योजना रहेको पौडेलले बताउनुभयो ।बैतडीमा २७ हजार बढी घरधुरीमा विद्युतको पहुँच पुगेको उनले बताउनुभयो ।
शर्माली बजारमा बिजुली बलेपछि स्थानीय नागरीकहरु खुसि भएका छन। गाउँपालिकाका बिजुली नपुगेका अन्य ठाउमा पनि विद्युत बिस्ताको काम निरन्तर चलिरहने गाउँपालिकाले जनाएको छ।