बैतडीको पुर्चौंडी नगरपालिकाले आज शोक बिदा दिएको छ।
नगरपालिका अन्तर्गत वडा नं १० को विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी भागरथी कुँवरको असमायिक निधन भएकाले मंगलबार शोक बिदा दिएको हो। नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा अनमी कुँवरको निधनले पुर्चौंडी नगरपालिकाले एक इमान्दार, कर्तव्यनिष्ठ र होनहार स्वास्थ्यकर्मी गुमाएको उल्लेख गरिएको छ।
पुर्चौंडी नगरपालिकाकी कार्यवाहक नगर प्रमुख मीना धानुक र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जारी गरेको शोक वक्तव्यमा मंगलबार नगरपालिका मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतमा शोक बिदा रहने उल्लेख गरिएको छ। विजयपुर स्वास्थ्यचौकीमा कार्यरत २४ बर्षीया अनमी भागरथी कुँवर आइतबार राति आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।
कुँवरले आत्महत्या गर्नुको कारण खुलीनसकेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। गत वैशाखमा मात्रै विवाहबन्धनमा बाँधिएकी मृतक कुँवरका श्रीमान नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमा कार्यरत रहेका छन्।
यसैबीच पुर्चौंडी बहुमुखी क्याम्पसले पनि मंगलबार क्याम्पसमा शोक बिदा दिएको छ। क्याम्पसमा स्नातक तह चौथो बर्षमा अध्ययन छात्रा भागरथी कुँवरको निधन भएकाले शोक बिदा दिएको क्याम्पसले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ।
