तीज नेपाली महिलाहरूको अत्यन्त महत्वपूर्ण पर्व हो। धार्मिक दृष्टिले शिव–पार्वतीको आराधना गर्ने, पारिवारिक मिलन गराउने र सामाजिक एकताको सन्देश दिने यो पर्व विगतदेखि नै नेपाली समाजमा विशेष स्थानमा रहँदै आएको छ।
पहिलेको तीज
पहिले तीज भनेको धार्मिक आस्था, परम्परागत संस्कृति र अनुशासनसँग जोडिएको थियो। महिलाहरू व्रत बसी भगवान् शिवलाई पूजा–आराधना गर्थे। घरघरमा गीत गाएर, मिलेर नाचगान गरेर हर्ष–उल्लासका साथ मनाइन्थ्यो। तीजलाई परिवारसँग भेट्ने अवसरको रूपमा पनि लिइन्थ्यो। त्यसबेला तिजको मूल उद्देश्य धार्मिक आस्था, सामाजिक सद्भाव र परिवारिक मिलन नै थियो।
अहिलेको तीज
हालका वर्षहरूमा तीजको स्वरूप धेरै बदलिएको छ। परम्परागत गीत–भाकाभन्दा बढी आधुनिक गीत–संगीतमा जोड दिइन थालेको छ। कतिपय ठाउँमा तिजलाई मात्र भोज, ठूला–ठूला कार्यक्रम र प्रदर्शनमा सीमित गरिएको देखिन्छ। खर्चिलो पाराले मनाउने प्रवृत्तिले वास्तविक संस्कृतिलाई ओझेलमा पार्दै गएको छ। कतिपय गीतहरूमा अश्लीलता, भडकिला लय र विकृति देखिनुले तीजको मौलिकता नै हराउँदै गएको छ।
समाजमा विकृति रोक्ने उपाय
१.धार्मिक आस्था र मौलिक संस्कृतिको सम्मान – तीजलाई आफ्नो मौलिक संस्कृति झल्किने खालमा मनाउन प्रोत्साहन दिनुपर्छ।
२.सादा जीवन, सादगीपूर्ण पर्व – तामझाम, प्रदर्शन र खर्चिलो शैलीलाई निरुत्साहित गर्दै सादगीपूर्वक मनाउने वातावरण बनाइनुपर्छ।
४.सामाजिक चेतना कार्यक्रम – विद्यालय, संघ–संस्था र सञ्चार माध्यममार्फत तीजको वास्तविक महत्वबारे सचेतना फैलाउनुपर्छ।
५.आत्मसंयम र मौलिकता चेलीबेटीको उत्सवलाई आफ्नो पहिचानको प्रतीकका रूपमा सुरक्षित राख्ने मानसिकता सबैमा विकास गर्न आवश्यक छ।
निष्कर्ष
तीज हाम्रो मौलिक संस्कृतिको अभिन्न हिस्सा हो। पहिलेको धार्मिक, सांस्कृतिक र सामाजिक स्वरूपलाई सम्मान गर्दै अहिले देखिएका विकृति रोक्न सके मात्र यसको मौलिकता जोगाउन सकिन्छ। हर्ष–उल्लासका साथ, धार्मिक आस्था र सादगीपूर्ण ढंगले मनाइने तीजले मात्र हाम्रो समाजलाई सही सन्देश दिन सक्छ।
भोजराज अवस्थी भुपि बैतडी