बैतडी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अपेक्षाकृत नतिजा आउने गरी काम गर्न बैतडीका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
आज पाटनमा सम्पन्न जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकमा मन्त्री भण्डारीले सरकारी कार्यालयबाट सम्पादन हुने कामहरू अपेक्षाकृत रूपमा नतिजा आउने गरी काम गर्न निर्देशन दिएका हुन्।
पूर्वाधारका कामलाई प्राथमिकतामा राख्न आग्रह गर्दै मन्त्री भण्डारीले अनुदानका काममा नतिजा आउने गरी कार्यान्वयन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए। बर्सातको समय रहेकाले विपद् पूर्वतयारी तथा उद्धारका लागि तयारी अवस्थामा रहन र चाडपर्व लक्षित बजार अनुगमनलाई कडाइ गर्न मन्त्री भण्डारीले निर्देशन दिए।
बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो।