एनपीएलको उपाधिका लागि भोलि सुदूरपश्चिम र लुम्बिनी भिड्दैं

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ। त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन्।

पहिलो क्वालिफायरमा गएको मंगलबार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो। लुम्बिनीले दोस्रो क्वालिफायरमा हिजो विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो। गएको वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ। गएको संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक उपाधी जित्ने दाउमा छ। लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो।

एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो।

Leave A Reply

Your email address will not be published.