बैतडी: यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाट तीन दिन बन्द गरिने भएको छ। निर्वाचन हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए।
निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए। बैतडीको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बिओपीमार्फत सुरक्षा निगरानी बढाएको उनले बताए।
जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरुबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए। पहिलादेखि नै चुनावको समयमा ७२ घण्टा सीमा नाका बन्द गर्ने गरिएकाले यो चुनावमा पनि सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए। नेपाल र भारत दुवै देशमा हुने चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको उनले बताए।