बैतडी : राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकहरूले अब मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय धाउनुपर्ने झन्झट हटेको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीले घरमै बसेर अनलाइन माध्यमबाट मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्न सकिने व्यवस्था सुरु गरेको जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण भरिसकेका उमेर पुगेका इच्छुक नेपाली नागरिकहरूले अनलाइन प्रणालीमार्फत सजिलै आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न सक्नेछन्। यस सेवाले जिल्लाभित्र मात्र नभई जिल्ला बाहिर बसोबास गर्ने बैतडीबासीलाई पनि ठूलो राहत मिल्ने विश्वास लिइएको छ।
त्यस्तै, अनलाइन प्रणाली प्रयोग गर्दा समस्या आउने नागरिकहरूका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। सूचना अधिकारी नरेश दयालले दिएको जानकारी अनुसार सम्बन्धित व्यक्तिले आफ्नो राष्ट्रिय परिचयपत्र वा स्लिपको फोटो, व्यक्तिगत मोबाइल नम्बर र आफ्नाे पायक पर्ने मतदान केन्द्रको नाम जिल्ला निर्वाचन कार्यालयको आधिकारिक WhatsApp नम्बर वा Facebook Messenger मार्फत पठाएमा पनि घरबाटै नाम दर्ता प्रक्रिया पूरा गर्न सकिनेछ। यसैगरी मतदाता नामावली दर्ता तथा अध्यावधिकको विषयमा गुनासा तथा सुझाव क्यूआरका माध्यमबाट संकलन गर्न सकिने जनाएको छ।
कार्यालयले प्रविधिमैत्री सेवा विस्तारसँगै नागरिकलाई सहज, छरितो र झन्झटरहित सेवा दिन यस्तो व्यवस्था गरिएको जनाएको छ। अब नागरिकहरूलाई लामो लाइन बस्नुपर्ने र कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयले सबै योग्य नागरिकलाई उपलब्ध सेवाको अधिकतम उपयोग गर्न आग्रह समेत गरेको छ।

