डडेल्धुरामा सडक विस्तार: भागेश्वर क्षेत्रमा संरचना हटाउन अन्तिम चेतावनी

डडेल्धुराको भागेश्वर गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने सडक क्षेत्रका संरचना हटाउन अन्तिम चेतावनी दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माणाधीन बागबजार–बगरकोट–सिराड–रूपाल सडकखण्डमा पर्ने संरचना हटाउन सूचना जारी गरेको छ। पूर्वाधार विकास कार्यालय डडेलधुराले जारी गरेको सूचनामा सडक क्षेत्राधिकारभित्र पर्ने घरटहरा तथा अन्य संरचना सात दिनभित्र स्वयम् हटाउन सम्बन्धित घरधनी तथा जग्गाधनीलाई आग्रह गरेको छ ।

कार्यालय प्रमुख ई. नवराज रावलका अनुसार यसअघि जिल्ला प्राविधिक कार्यालय अन्तर्गत सञ्चालित आरआरआरएसडिपी परियोजनामार्फत सडक निर्माण सम्पन्न हुँदै गर्दा केही घरधनी तथा जग्गाधनीले मुआब्जा प्राप्त गरिसक्नुभएको छ । मुआब्जा बुझिसकेका व्यक्तिले सडक क्षेत्रभित्र पर्ने संरचना तत्काल खाली गरेर हटाउनुपर्ने सूचनामा उल्लेख छ । तोकिएको समयसीमाभित्र संरचना नहटाइए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्दै कार्यालयले नै हटाउने चेतावनी सूचनामा दिइएको छ । साथै मुआब्जा नपुगेका अन्य जग्गाधनीका हकमा प्रचलित कानुन अनुसार प्रक्रिया अघि बढाइने पनि स्पष्ट गरिएको छ ।

पाँच मिटर कालोपत्रे गरिएको यस सडकखण्डको बागबजार क्षेत्रमा दायाँबायाँ गाडी रोकिएका हुन्छन् । अमरगढी नगरपालिका–२, ४स भागेश्वर गाउँपालिका र बैतडीको तल्लो स्वराड शिवनाथ गाउँपालिकाका विभिन्न बस्तीमा यही सडक बाटो हुँदै सवारीका साधन र मालवाहक गाडी सञ्चालनमा आउने गरेका छन् । यस सडक क्षेत्रमा दोहोर पार्किङ गरिँदा आउजाउ गर्न कठिन हुने गरेको महेन्द्र माविका सवारीचालक रनजित सिजापतिले बताउनुभयो ।

गोरखापत्र अनलाइन

Leave A Reply

Your email address will not be published.