एसईईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण भएकालाई आउँदो असार एक गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्।

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईमा नियमिततर्फ दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएको र एक लाख ४६ हजार ५सय ७ नन्ग्रेडेड भएको जानकारी दिनुभयो। गएको चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षामा पाँच लाख १२ हजार ४ सय २१ सहभागी थिए।

बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। त्यस्तै, बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ।

यस्तै यसवर्ष कक्षा ११ को भर्ना प्रक्रिया पनि छिट्टै शुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा ११ को भर्ना तयारी थालिने बताउनुभएको छ। शिक्षा मन्त्रालयले सरोकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठनपाठनको मिति तय गर्नेछ।

Leave A Reply

Your email address will not be published.