विपतजन्य घटनाको उद्धारका लागि बैतडीको पञ्चेश्वरमा स्वयंसेवक समूह गठन

बैतडीको पञ्चेश्वर गाउँपालिकाले विपतजन्य घटनाको उद्धार कार्यका लागि स्वयंसेवक समूह गठन गरेको छ। सीमानदी महाकाली आसपासमा हुने विपतका घटनाहरूको उद्धार कार्यका लागि ३६ जनाको उक्त समूह गठन गरिएको हो।

पञ्चेश्वरका ६ वटा वडाबाट ६र६ जना युवा–युवतीलाई स्वयंसेवक दस्तामा भर्ना गरिएको र आउँदो हप्ता सशस्त्र प्रहरी बल नेपालले तालिम दिने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। मनसुन आउनुभन्दा केही हप्ताअगाडि विपतका घटनामा पूर्वतयारी गर्ने तथा उद्धार र राहत कार्यको तयारीका लागि स्वयंसेवक समूह गठन गरिएको उनले बताए।

पञ्चेश्वरमा ७ सय २ घर पहिरोको जोखिममा रहेको र वडा नं। ४ मा ८० जना बसाइँसराइ गरेर गएको स्थानीय नरीराम लुहारले बताए। उनी स्थानीयस्तरमा जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा सचेतना फैलाउँदै आएका छन्। लुहारले विपतजन्य घटनाको उद्धारका लागि स्वयंसेवक समूह गठन गरेर तयारी गर्ने पञ्चेश्वर जिल्लामै पहिलो पालिका भएको बताए।

विपतको समयमा प्रभावितहरूको उद्धार तथा युवापुस्तालाई सामाजिक क्षेत्रमा परिचालन गरिने उपाध्यक्ष विना भट्टले बताइन्।

युवा पुस्ताको क्षमता अभिवृद्धि, समाजसेवामा प्रेरित गर्ने तथा स्थानीय सरकार र सुरक्षाकर्मी एकसाथ अघि बढ्ने उद्देश्यले स्वयंसेवक समूह गठन गरिएको गाउँपालिकाले जनाएको छ। उनीहरूलाई उद्धार सामग्री तथा तालिम दिएपछि उद्धार कार्यका लागि तयारी अवस्थामा राखिने अध्यक्ष चन्दले जानकारी दिए।

विपत् आएपछि मात्र थाहा पाउने अवस्थामा धेरै क्षति व्यहोर्नुपरिरहेको भन्दै अब सबै पालिकाले पञ्चेश्वरजस्तै पूर्वतयारी गर्नुपर्ने छिमेकी शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। भूकम्पीय जोखिमबाट बच्न भवन आचारसंहिता पालना गरेर घर निर्माण गर्न तथा वर्षातको समयमा सचेत भएर बस्नसमेत पञ्चेश्वर गाउँपालिकाले स्थानीयलाई अनुरोध गरेको छ।

Leave A Reply

Your email address will not be published.