जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नति गरिने

बैतडी: जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नति गरिने भएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मिँयाले बैतडीसहितका पहाडी जिल्लामा रहेका अस्पतालहरुलाई २५ देखि ५० शैय्यामा स्तरोन्नति गर्ने बताएका हुन्। 

जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नतिको माग गर्दै अस्पताल व्यवस्थापन समितिले प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो। यसका साथै नागरिकस्तरबाट पनि बैतडी अस्पतालको स्तरोन्नति हुनुपर्ने माग रही आएको थियो। 

जिल्ला अस्पताल बैतडीमा ५० शैय्याको अस्पताल सञ्चालन गर्न सकिने भौतिक संरचना भएकाले आफूहरुले ५० शैय्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्रीले बताए। प्रदेश सरकारले जिल्ला अस्पतालहरुलाई स्तरोन्नति गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरेकाले अस्पतालको स्तरोन्नति हुनेमा आफू आशावादी रहेको अध्यक्ष क्षेत्रीले बताए। 

बैतडीमा बिरामी चाप बढी भएकाले अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्नु अति आवश्यक रहेको उनले बताए। यस्तै सुदूरपश्चिम प्रदेशका तीन प्रादेशिक अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिने भएको छ। प्रदेश सरकार मातहत रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिने भएको हो।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख मियाँले यस्तो जानकारी दिएका हुन्। 

Leave A Reply

Your email address will not be published.