मेलौलीमा विपन्न महिलाका लागि मौरी पालन तथा उद्यमशीलता तालिम सुरु

बैतडीको मेलौली नगरपालिकामा विपन्न तथा असहाय महिलाहरूलाई लक्षित गरी ७ दिने मौरी पालन तथा उद्यमशीलता विकास सम्बन्धी तालिम सञ्चालन गरिएको छ।

मेलौली नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा आजदेखि तालिम सुरु भएको शाखा प्रमुख लक्ष्मी भट्टले जानकारी दिनुभयो। तालिम नगरपालिकाकाे सभाहलमा सञ्चालन भईरहेकाे छ।

तालिममा नगरपालिकाका प्रत्येक वडाबाट २–२ जनाका दरले विपन्न तथा असहाय महिला सहभागी भएका छन्। महिलाहरूलाई सीपयुक्त बनाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन, आयआर्जनका अवसर सिर्जना गर्न र जीवनस्तर सुधारमा टेवा पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको शाखा प्रमुख भट्टले बताउनुभयो।

तालिमका क्रममा सहभागीहरूलाई मौरी पालनका आधारभूत तथा व्यावसायिक पक्ष, मह उत्पादन, मौरी व्यवस्थापन, रोग नियन्त्रण, बजारीकरण तथा उद्यम सञ्चालन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भिम बहादुर चन्दले मौरी पालन ग्रामीण क्षेत्रका महिलाका लागि कम लगानीमा राम्रो आम्दानी लिन सकिने व्यवसाय भएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आर्थिक सशक्तीकरणतर्फ अघि बढ्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा सहभागी महिलाहरूको उपस्थिति रहेको थियो। सात दिनसम्म सञ्चालन हुने तालिमले महिलाहरूमा उद्यमशीलता विकास गरी आत्मनिर्भर बन्न प्रेरणा मिल्ने निमित्त प्रमुख प्रशासकीय कार्कीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.