बैतडी : पञ्चेश्वर गाउँपालिका–१ स्थित श्री डुग्रीखान माध्यमिक विद्यालय सेरीलेकमा सोमबार पुरस्कार वितरण तथा शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरत बहादुर चन्दको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका भूतपूर्व शिक्षक गंगादत्त तिवारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तथा शिक्षाप्रेमी कल्यान सिंह साउद, पञ्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष दिवान सार्की तथा रायपुर आधारभूत विद्यालयका प्रधानाध्यापक भरत बहादुर चन्द विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको प्रधानाध्यापक विर सिंह घटालले जानकारी दिनुभयो।
कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। साथै पञ्चेश्वर गाउँपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षामा प्रथम स्थान हासिल गरेका गणेश कलौनीलाई ३ हजार ३ सय ३३ बराबरको नगद पुरस्कार प्रदान गरिएको थियाे। उक्त पुरस्कार पञ्चेश्वर–४ निङ्लाड डङ्खेत निवासी देवीचन्द चन्द र जुनकिडी चन्दका सुपुत्र नरेन्द्र बहादुर चन्दले प्रायोजन गर्नुभएको हो। पुरस्कार रायपुर आधारभूत विद्यालयका प्रधानाध्यापक भरत बहादुर चन्दले वितरण गर्नुभएको जनाईएकाे छ।
त्यसैगरी गत वर्षको वार्षिक उत्सवमा घोषणा गरेअनुसार विद्यालयका भूतपूर्व शिक्षक गंगादत्त तिवारीले कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई जनही ६ हजारका दरले पुरस्कार प्रदान गर्नुभएको थियो। उक्त पुरस्कार गणेश कलौनी र सावित्री औजीले प्राप्त गरेका हुन्।
साथै कक्षा ८ मा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने गणेश कलौनी, चन्दन औजी र खेमराज कलौनीलाई समेत थप पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा कक्षा १० को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई प्रदान गरिँदै आएको ‘सर्वोत्कृष्ट ज्ञान पुरस्कार’ अन्तर्गत अमिर घटाललाई ७ सय ५० प्रदान गरिएको छ। उक्त पुरस्कार विद्यालयका पूर्व प्रधानाध्यापक ज्ञान सिंह घटालले स्थापना गर्नुभएको हो।
छात्रातर्फ यस वर्ष कुनै विद्यार्थी उत्तीर्ण हुन नसकेकाले उक्त पुरस्कार वितरण हुन नसकेको विद्यालयले जनाएको छ। यसैगरी विद्यालयभर उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई गणित तथा विज्ञान शिक्षक विरेन्द्र कलौनीले आफ्ना स्वर्गीय पिता शुरोमणि कलौनीको स्मृतिमा स्थापना गर्नुभएको ‘शुरोमणि स्मृति पुरस्कार’ अन्तर्गत जनही ५ सय ५० प्रदान गर्नुभएको थियो। यस वर्ष उक्त पुरस्कार कक्षा ३ का विद्यार्थी अंकुश घटाल र सोफिया घटालले प्राप्त गरेकाे विद्यालयले जनाएको छ।
त्यस्तै कक्षा १० को विदाइ कार्यक्रममा घोषणा गरिएअनुसार A+ र A ग्रेड ल्याउने विद्यार्थीलाई पुरस्कार दिने कार्यक्रमअन्तर्गत विद्यालयका प्रधानाध्यापक वीरसिंह घटाल र सहायक प्रधानाध्यापक प्रकाशदत्त कलौनीले A ग्रेड प्राप्त गरेका अमिर घटाललाई जनही १ हजार १ सयका दरले कुल २ हजार २ सय पुरस्कार प्रदान गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार तथा विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया समेत गरिएको बताईएकाे छ।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक सुझाव दिएका थिए। विद्यालयले विभिन्न पुरस्कार प्रायोजन गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै यस्ता योगदानले गरिब, जेहेन्दार तथा अनाथ विद्यार्थीहरूलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
साथै विद्यालयको शैक्षिक उपलब्धि सुधारमा योगदान पुर्याउने शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रमबारे जानकारी दिँदै प्रधानाध्यापक घटालले विद्यालयको शैक्षिक स्तर उकास्न सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो।