बैतडीको शिवनाथ गाउँपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

बैतडी-बैतडीको शिवनाथ गाउँपालिकाले सुरक्षित मातृत्व र गुणस्तरीय मातृ–शिशु स्वास्थ्य सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दैूस्वस्थ आमा, सुरक्षित सुत्केरी, समृद्ध परिवार हाम्रो चाहना भन्ने मूल नारालाई आत्मसात् गर्दै ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरेको छ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदको अध्यक्षतामा सम्पन्न भएको थियो ।भने बैतडी जिल्ला न्यायाधीश तिर्थराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा  गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद, निवर्तमान उपाध्यक्ष कुश्मा चन्द,प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्य,स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ राज भट्ट,जिल्ला अस्पताल बैतडीका डा.अरविन्द्र जोशी विशिष्ट अतिथि रहेका थिए ।

यस्तै,कार्यक्रममा अधिवक्ता गोवर्धन नाथ, खोप सुपरभाइजर (निरीक्षक) हरिस प्रसाद भट्ट, विभिन्न शाखाका प्रमुखहरू, नेपाल दलित संघका जिल्ला अध्यक्ष सुरत पार्की,सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख,जनप्रतिनिधि, स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका,कलाकार तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा जानकारी दिँदै शिवनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र सिंह महताले गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न आवश्यक सबै सूचकहरू पूरा भएको बताए। उनले पछिल्ला वर्षहरूमा गर्भवती महिलाहरूको नियमित गर्भ परीक्षण, दक्ष स्वास्थ्यकर्मीको निगरानीमा प्रसूति सेवा, समयमै स्वास्थ्य संस्थामा पुग्ने व्यवस्था, नवजात शिशुको स्वास्थ्य परीक्षण तथा प्रसूति पश्चात् सेवामा उल्लेखनीय सुधार भएको जानकारी दिए।

उनका अनुसार गाउँपालिकाभित्रका सबै वडाका गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामै सुरक्षित रूपमा सुत्केरी हुने अवस्था सुनिश्चित भएपछि पालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो। यो उपलब्धि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय समुदायबीचको समन्वय र निरन्तर प्रयासको परिणाम भएको उनले बताए।

महताले भने,संस्थागत सुत्केरी गराउनु भनेको केवल एउटा सूचक पूरा गर्नु मात्र होइन, आमा र नवजात शिशुको जीवन सुरक्षित बनाउने अभियान हो। यस अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, सरोकारवाला निकाय र सम्पूर्ण समुदायको महत्वपूर्ण योगदान रहेको छ। आगामी दिनमा पनि मातृ तथा शिशु मृत्युदरलाई शून्यतर्फ उन्मुख गराउने लक्ष्यका साथ स्वास्थ्य सेवाको गुणस्तर थप सुदृढ बनाइनेछ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश तिर्थराज भट्टले सुरक्षित मातृत्व प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा शिवनाथ गाउँपालिकाले हासिल गरेको उपलब्धि अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी रहेको बताए। उनले यस्तो उपलब्धिलाई दिगो बनाउन सबै पक्षले निरन्तर सहकार्य गर्नुपर्नेमा जोड दिए।

विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी डा. विजन भट्टराईले स्वास्थ्य सेवा नागरिकको सबैभन्दा संवेदनशील आवश्यकता भएको उल्‌लेख गर्दै संस्थागत सुत्केरीलाई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्न समुदायस्तरसम्म जनचेतना अझ प्रभावकारी बनाउनुपर्ने बताए।उनले स्थानीय सरकारको सक्रियता, स्वास्थ्यकर्मीको समर्पण र समुदायको सहभागिताले मात्रै यस्तो सफलता सम्भव भएको धारणा व्यक्त गरे।

गाउँपालिका अध्यक्ष कर्ण सिंह साउदले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सुरक्षित मातृत्व, खोप, पोषण, परिवार नियोजन तथा आधारभूत स्वास्थ्य सेवाको विस्तारमा निरन्तर लगानी गरिरहेको बताए। उनले कुनै पनि गर्भवती महिलाले घरमै असुरक्षित रूपमा सुत्केरी हुनुपर्ने अवस्था अन्त्य गर्नु गाउँपालिकाको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य संस्थाको सेवा थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न क्षेत्रबाट स्वास्थ्य सेवा प्रवाहमा योगदान र्पुयाउने स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूलाई सम्मान समेत गरिएको थियो। घोषणा कार्यक्रमले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य संरक्षण तथा संस्थागत प्रसूतिलाई थप प्रभावकारी बनाउने सन्देश दिएको सहभागीहरूले बताएका थिए।

शिवनाथ गाउँपालिकाले प्राप्त गरेको पूर्ण संस्थागत सुत्केरी पालिकाको मान्यता मातृ तथा शिशु स्वास्थ्य सुधारतर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ।यस घोषणासँगै गाउँपालिकाले सुरक्षित मातृत्वका सूचकहरूलाई दीगो रूपमा कायम राख्दै प्रत्येक गर्भवती महिलालाई समयमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता दोर्होयाएको छ।

Leave A Reply

Your email address will not be published.