श्रीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सार्वजनिक सुनुवाइ तथा प्रयोगशाला उद्घाटन

बैतडी -बैतडीको शिवनाथ गाउँपालिका-३ मा रहेको श्रीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सार्वजनिक सुनुवाइ तथा प्रयोगशाला उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा स्वास्थ्य संस्था प्रमुख मोहन कलौनीले स्वास्थ्य संस्थाको सेवा प्रवाह, उपलब्ध सेवा तथा आगामी योजनाका विषयमा जानकारी गराउनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले स्थानीय नागरिकलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए।

उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताए ।

अध्यक्ष साउँदले स्वास्थ्य संस्थामा आवश्यक भौतिक पूर्वाधार, उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ गाउँपालिकाले ध्यान दिइरहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको सभाध्यक्ष स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष तथा शिवनाथ गाउँपालिका–३ का वडा अध्यक्ष केशवदत्त कलौनी रहेका थिए । भने कार्यक्रममा गाउँपालिका प्रवक्ता केशव चन्द र प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्य विशिष्ट अतिथिका रहेका थिए ।

त्यसैगरी वडा सदस्य, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि,शिक्षक तथा स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा श्रीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला (ल्याब) को उद्घाटन समेत गरिएको छ। प्रयोगशाला सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई विभिन्न प्रकारका आधारभूत स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रमा कार्यरत सात जना कर्मचारीलाई सम्मान समेत गरिएको थियो। स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान र सेवा प्रवाहमा गरेको भूमिकाको कदर गर्दै कर्मचारीलाई सम्मान गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख मोहन कलौनी जानकारि दिए ।

कार्यक्रममा स्थानीय नागरिकले स्वास्थ्य सेवा केन्द्रबाट प्रदान भइरहेका सेवा, सेवा प्रवाहका क्रममा देखिएका समस्या तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा समेत जिज्ञासा तथा सुझाव राखेका थिए। सार्वजनिक सुनुवाइ मार्फत प्राप्त सुझावलाई स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन उपयोग गरिने बताइएको छ।

Leave A Reply

Your email address will not be published.