साउन २३, सोमबार २०७९
बैतडी – दोस्रो संस्करणको पाटन प्रिमियर लिग ९पिपिएल० क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ।
आयोजक पाटन क्रिकेट क्लबले आइतबार बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १ देखि दोस्रो पिपिएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने जानकारी गराएको हो।
प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो हुनेले पुरस्कारबापत ५५ हजार ५ सय ५५ नगदसहित प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एकजना खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कारस्वरुप ११ हजार १११ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए।
बेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई जनही ५ हजार ५५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
देशभरका जुनसुकै टोलीले पनि सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागिता जनाउन भाद्र ३० गतेसम्म टिम दर्ता गर्नुपर्नेछ। टिम दर्ताका लागि शुल्क ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ।
पाटन नगरपालिका(६ मा रहेको कृष्ण माविको खेलमैदानमा हुने राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल १५ ओभरका हुनेछन् भने क्वार्टरफाइनलपछिका खेलहरू २० ओभरमा खेलाइने जनाइएको छ। प्रतियोगिता आयोजनामा बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य गरेका छन्।
विनोद सिंह विष्ट………