कांग्रेस नेता प्रदीप गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

मेलौली न्यूज
भाद्र ०५ आईतबार,२०७९

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गएराति साढे ९ बजे उहाँको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा। पङ्कजकुमार बर्मनले जानकारी दिनुभयो।

प्रतिनिधि सभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किनुभएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गएको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धाञ्जलीका लागि राखिनेछ ।

बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले विज्ञप्ति निकालेर गिरिको निधनबाट स्तब्ध मर्माहत भएको जनाएको छ । उहाँले कांग्रेसको सङ्गठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदान सधैँ स्मरणीय रहेने विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसमा बौद्धिक धार तथा समाजवादी चिन्तनलाई प्रतिनिधित्व गर्ने गिरिले अध्ययन र निर्वासित राजनीतिका प्रारम्भिक वर्षमा भारतको दरभङ्गा, पटना, बनारस र दिल्लीमा झन्डै दुई दशक बिताउनु भएको थियो । गिरि नेपाली कांग्रेसमा वीपी कोइरालाका समकालीन धनुषाका कांग्रेस नेता मित्रलाल गिरिका छोरा हुनुहुन्छ । नेपाली कांग्रेस भित्रै रहे पनि स्वतन्त्र चिन्तन र नेतृत्वको आलोचनाका कारण उहाँ दलभित्र अल्प समूहमै पर्नुहुन्थ्यो ।

उहाँका निकटहरुले गिरिलाई क्षमता अनुरुप अवसर नपाएको रुपमा लिने गरेका छन् । नेपाली राजनीतिमा निष्ठावान राजनीतिज्ञमा रुपमा परिचित गिरिले १४र१५ वर्षको उमेरदेखि नै राजनीतिक अभियान सुरु गर्नुभयो। नवीन नेपाल निर्माणको सङ्कल्प र दृष्टिकोणमा खरो उत्रने नेता गिरि पाको पुस्तादेखि युवासम्म लोकप्रिय हुनुहुन्थ्यो । सादगी जीवन र प्रष्ट दृष्टिकोण राख्ने नेता गिरि २०५१ सालको मध्यावधि चुनावमा सिरहाबाट विजयी हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.