आज बडादशैंको छैठौं दिन, कात्यायनी देवीको पूजा आराधना गरिदैं

मेलौली न्यूज
असोज १५ शनिबार,२०७९

नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रको छैठौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये छैठौंं रुप कात्यायनी देवीको पूजा आराधना गरिँदैछ ।

बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत शनिबार कात्यायनी माताको पूजा आराधना गरिदैछ ।

कात्यायिनी देवीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं पर्व मनाउने गरिएको धार्मिक विश्वास छ ।

घटस्थापना गरेसँगै नौ दिनसम्म नवदूर्गाका नौवटा रूपहरूमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौंं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने चलन छ ।

कात्यायनी यज्ञ रक्षा र देवताहरूको कार्य सिद्धिका लागि महर्षि कात्यायनको आफ्नो आश्रममा प्रकट भएकी कन्यालाई छोरी बनाएकाले ती देवीको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिएको छ । त्यसकारण महर्षि कात्यायनको छोरीको रुपमा कात्यायनी माताले जन्म लिएको विश्वास गरिन्छ । आश्विन कृष्ण चतुर्दशीमा जन्म लिएर उनले विजया दशमीका दिन महिषासुर भन्ने दैत्यको वध गरेकी थिइन् ।

शिरमा अर्धचन्द्र धारण गरेकी, नाना प्रकारका अलंकार या आभूषणबाट सुशोभित भएकी, चार हात भएकी, पद्म, पुष्प तथा तरबार धारण गरेकी स्वरूपमा कात्यायनी देवीलाई लिइन्छ ।

कात्यायनी देवीको पूजा आरधना गर्नाले अविवाहिताको यथाशीघ्र विवाह हुने र धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिने शास्त्रीय मान्यता छ । भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले उनै कात्यायनी देवीको आराधना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.