विस्फोटपछि बन्द रहेको रुस र क्राइमिया जोड्ने केर्च पुल आंशिक रुपमा सञ्चालन


असोज २३, आइतबार २०७९

-ठूलो विस्फोटपछि बन्द रहेको रुस र क्राइमिया जोड्ने युरोपकै सबैभन्दा लामो केर्च पुल आंशिक रुपमा सञ्चालनमा आएको छ । हिजो दिउँसो भएको कार बम विस्फोटपछि सडक तथा रेलमार्गसमेत रहेको केर्च पुलमा क्षति पुगेको थियो भने केही रेलमा आगलागी भएको थियो।

क्राइमियालाई रुससँग जोड्ने एकमात्र पुल भत्किएपछि रुसले कब्जा गरेका युक्रेनका खेअर्सन लगायतका क्षेत्रमा आपूर्ति नै ठप्प हुने पश्चिमा देशले अनुमान गरेका थिए । तर गएरातिदेखि नै पुलमा साना गाडी सञ्चालन भएको र ट्राफिक लाइट बलेको भिडिओ रुसी विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । पुल र रेलमार्गलाई चाँडै मर्मत गरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने रुसले जनाएको छ।

पुलमा कस्ले विस्फोट गरायो भन्ने अनुसन्धान भइरहेको छ। तर युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकारले भने आफ्नो देशले आक्रमण गरेको सङ्केत गर्दै अब रुसले लुटेका सबै वस्तु नष्ट गरिने र गुमेका क्षेत्र फिर्ता गरिने उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ।

रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफ्नो देशमा गाभेपछि क्राइमिया जोड्न र विजयको प्रतिकको रुपमा समुद्रमाथि युरोपकै लामो पुल बनाएको थियो । पुल सन् २०१८ देखि सञ्चालनमा रहेको थियो।

Leave A Reply

Your email address will not be published.