पश्चिमका एक/दुई ठाउँमा हल्का पानी परे पनि अबका केही दिन मौसम सफा हुने

मेलौली न्यूज
कार्तिक ०५ शनिबार,२०७९

पश्चिमका एकरदुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँमा अबका केही दिन मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पश्चिम क्षेत्रमा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । तर यो पानीले खासै प्रभाव नपार्ने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अब जाडो क्रमिक रुपमा बढ्नेछ । बादल र वर्षा नहुँदा आकाश खुल्नेछ । चिसो पनि बढ्नेछ । देशभर रहेका १६ वटा मौसम मापन केन्द्रमध्ये सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको छ । यो बिस्तारै घटेर माइनसतर्फ जानेछ ।

त्यस्तै काठमाण्डौ उपत्यका, भैरहवा, विराटनगर, धनगढीसहित देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा छ । काठमाण्डौको बिहानको न्युनतम तापक्रम १२ डिग्री सेल्सियस र आजको अधिकतम तापक्रम २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज राति देशभरको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । तत्काल अन्य मौसमी वायु नेपाल प्रवेश गर्ने सम्भावना नरहेकोले अबका केही दिन नेपालको मौसम सामान्यतया सफा नै रहने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.