बैतडी– बैतडीका विद्यालयमा विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षाका बारेमा जानकारी दिन थालिएकोे छ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीले जिल्लामा यो उपचार विधिप्रति आकर्षण बढ्दै गएको बेला विद्यालयमा अध्यनरत विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा दिएको हो।
मेलौली नगरपालिका वडा न ७ मा रहेको मणिलेक माद्यमिक विद्यालयमा आयुर्वेद तथा योग शिक्षाको बारेमा जानकारी दिइएको आयुर्वेद चिकित्सक सिर्जना भण्डारीले बताए। उनले सेवाग्राहीहरुमा यो उपचार विधिमा आकर्षण बढ्दै गएको र विद्यालयस्तरमा पनि विद्यार्थीलाई जानकारी गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको बताए।
कार्यक्रममा विद्यार्थीहरुलाई आयुर्वेदको परिचय, महत्व, फाइदा, आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडिवुटी बारेमा जानकारी, आहार शैली र आयुर्वेदीय जीवनशैली तथा जडीबुटीको बारेमा जानकारी गराइएको छ । आयुर्वेदप्रतिको विश्वास जगाउने र प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्नुपरेको हो।
मणिलेक माविका प्रधानाध्यापक रमेश दत्त बागले बालबालिका मार्फत् विभिन्न सन्देश तथा अभियान सञ्चालन गर्दा प्रभावकारी हुने भएका कारण पहिला बालबालिकालाई नै आयुर्वेद र योग शिक्षा जरुरी भएको बताए ।
उनले विद्यार्थीमार्फत घरपरिवारका सदस्यलाई जानकारी गराउन सहज हुने भएको कारण पनि कार्यक्रम उपयोगी रहेको जनाए। कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका छन ।
