बैतडी-मेलौली नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बन्न सफल आफ्ना खेलाडीहरुलाई सम्मान गरेको छ। सोमबार मेलौली नगर खेलकुद विकास समितिको आयोजनमा नगरप्रमुख भीम बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताको विजेता टोलीलाई नगदसहित सम्मान गरिएको हो।
शिल्डको उपाधी जितेको मेलौलीको टिमलाई खादा र अविर सहित सम्मान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर भण्डारी (सागर)ले बताए।
कार्यक्रममा बोल्दै मेलौली नगरपालिकाका मेयर भीम बहादुर चन्दले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएर अघि बढीरहेको बताए। उनले नगरपालिकाले गरेको लगानीलाई खेलाडीहरुले खेर जान नदिएको भन्दै खुशी व्यक्त गरे।
उक्त सम्मान कार्यक्रममा उपप्रमुख पार्वती बोहरा बिष्ट, प्रमुख प्रसाशकिय अधिकृत जगदीश जोशी लगायतको सहभागिता रहेको थियो।
