बैतडी -स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनकाे मिति नजिक आएसंगै नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल विद्यार्थी संघले संगठन बिस्तारमा तिव्रता दिएकाे छ । स्ववियु निर्वाचन हुने यहाँका क्याम्पसमा संगठन बिस्तारकाे काममा तिव्रता दिइएको नेविसंघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिनुभयाे।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते र सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ गते स्ववियु निर्वाचनको मिति तय गरेकाे छ ।
मिति नजिकिएसंगै नेविसंघ बैतडीको सम्पूर्ण ध्यान स्ववियु निर्वाचन कसरी जित्ने भन्नेमा केन्द्रित रहेकाे केसीकाे भनाइ छ । यहाँ रहेका क्याम्पसहरूमा पुगेर संगठन बिस्तार गर्ने काम भइरहेकाे नेविसंघ बैतडीले जनाएको छ ।
यसअघि फागुन १३ गते पाटनमा सम्पन्न भएकाे बैठकले गरेकाे निर्णयअनुसार संगठन बिस्तारकाे काम भइरहेको हाे ।बैठकले स्ववियु निर्वाचनलाई लक्षित गरेर यही फागुन १५ गतेदेखि संगठन विस्तार अभियान सञ्चालन गर्ने, स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा प्रतिनिधि खटाउने र स्ववियु निर्वाचनका लागि क्याम्पस र भेग सुहाउँदो नारा तय गर्ने निर्णय भएको थियाे ।
नेविसंघप्रति विद्यार्थीकाे आकर्षक बढ्दाे रहेकाे अध्यक्ष केसीले बताउनुभयाे ।
बैतडीमा त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पस रहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका श्रीकाेट बहुमुखी क्याम्पस, पुर्चौंडी बहुमुखी क्याम्पस, सिगास बहुमुखी क्याम्पस गाँजरी र सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा चैत ५ गते स्ववियु निर्वाचन हुने बताइएको छ ।
यस्तै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पसहरु जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, पाटन बहुमुखी क्याम्पस पाटन र मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा चैत ८ गते स्ववियु निर्वाचन हुने बताइएको छ । विनाेद सिंह विष्ट—