बैतडी-पञ्चेश्वरमा भएको जिप दुर्घटनाका घाईतेहरुको उद्धार कार्य चलिरहेको छ। देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका-५ तिलकपुर भीटा भन्ने स्थानमा भएको जिप दुर्घटनामा परी घाईते भएकाहरुको उद्धार कार्य चलिरहेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही सहित ३० जनाको उद्धार टोली उद्धार कार्यमा रहेको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका ५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ। गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप सोमबार बिहान ११ बजेतिर दुर्घटनामा परेको हो।
१२ जना सवार रहेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ। ब्रेक फेल भइ जिप दुर्घटनामा परेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ।