बैतडी-बैतडीको मेलौलीमा विद्युतको सवस्टेशन निर्माण कार्य पूरा भएको छ। ३३ केभी प्रशारण लाइनका लागि मेलौलीमा सवस्टेशन निर्माण कार्य पूरा भएको हो। तल्लोसोराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत प्रशारण सहज बनाउनका लागि मेलौलीमा सवस्टेशन निर्माण गरिएको हो।
२०७५ सालदेखि निर्माण कार्य शुरु गरिएको विद्युत सवस्टेशन निर्माण अन्तर्गत सिभिल निर्माणको सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र प्रमुख पवन भट्टले जानकारी दिए। अब इलेक्ट्रीकल निर्माणको काम सम्पन्न भएपछि सवस्टेशनबाट विद्युत वितरण हुने भट्टले बताए।
मेलौलीमा सवस्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरण प्रादेशिक वितरण केन्द्र अत्तरियाले निर्माण कम्पनीसंग १२ करोडमा ठेक्का सम्झौता गरेको थियो।
सवस्टेशन निर्माणसंगै मेलौली सम्म विद्युत प्रशारण लाइन समेत निर्माण भएको छ। प्रशारण लाइनमा केही पोल ढलेकाले त्यसलाई सुधार गर्न निर्माण कम्पनीलाई भनिसकेको विद्युत प्राधिकरण बैतडीका प्रमुख भट्टले बताए।
मेलौलीमा निर्माण भएको सवस्टेशनको बैतडी प्रदेश सभा क्षेत्र नं २ का प्रदेश सभा सदस्य शिवराज भट्टले निरीक्षण समेत गरेका छन्। विद्युत सवस्टेशन छिटो सञ्चालनमा ल्याउनका लागि विद्युत प्राधिकरणको प्रादेशिक वितरण केन्द्र अत्तरियाको ध्यानाकर्षण गराउने उनले बताए।
मेलौलीमा निर्माण भएको सवस्टेशनले तल्लोसोराड क्षेत्रका नागरिकको विद्युत सेवामा पहुँच पुर्याउने भएकाले यसको निर्माण कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित निकायको आफूले ध्यानाकर्षण गराउने प्रदेश सभा सदस्य भट्टले बताए।
सवस्टेशनको सिभिल कार्य अन्तर्गत घर, आवास र सुरक्षा गार्ड बस्ने घर समेत निर्माण भइसकेको छ। यस्तै सवस्टेशन सम्म पुग्ने बाटो पिच गरिएको छ।
तल्लोसोराड क्षेत्रमा विद्युत विस्तारका लागि स्थानीय सरकारहरुले पनि तदारुकता देखाउनुपर्ने तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले बताए। तीनै तहका सरकारको समन्वय भएमा विकास निर्माणका कामहरुले गति लिने उनले बताए।