बैतडी-मेलौलीमा बिश्व औलो दिवशको मनाईएको छ। शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित मेलौलीमा पनि विश्व औलो दिवस मनाईएको हो।
कार्यक्रममा औलो सम्बन्धी छलफल गरिएको स्वास्थ्य संयोजक नारायण बहादुर चन्दले बताए। औलो रोग केहो? यो कसरि सर्छ र यसबाट बच्नको लागि के गर्न सकिन्छ भनेर छलफल गरिएको उनले बताए।
औलो दिबसको अवशरमा मेलौली नगरपालीका–०४ र ०६ का गर्भवती महिलाहरुलाई झुल बितरण गरिने समेत जनाईएको छ। मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलो नियन्त्रण कार्यक्रम अन्तर्गत लामखुट्टे नष्ट अभियान शुरु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
जिल्लाको तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका केही वडा औलोको जोखिममा रहेका छन्। औलोको जोखिममा रहेका वडाहरुका प्रत्येक घरधुरीमा बिषादी छर्कने कार्य शुरु भएको स्वास्थ्य प्रमुख भट्टले बताए।
औलो लामखुट्टेबाट सर्ने रोग भएकाले लामखुट्टे नष्ट अभियान थालिएको हो। पछिल्लो समयमा पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढ्दै गएको छ। पहाडी क्षेत्रमा लामखुट्टे भित्रिएसंगै औलोका बिरामी फेला पर्न थालेका स्वास्थ्य कार्यालयले जनाएको छ।
विश्व औलो दिवसको अवसरमा पारेर लामखुट्टे नष्ट अभियान शुरु भएको हो। औलोको जोखिम रहेका वडाहरुमा लामखुट्टे नष्ट अभियान सञ्चालन गरिएको बताइएको छ।
यसैबीच विश्व औलो दिवसको अवसर पारेर बैतडीका विभिन्न पालिकाहरुले सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन्। औलोको बारेमा जानकारी दिनका लागि पालिकाहरुले सचेतनामूलक कार्यक्रमको
आयोजना गरेका हुन्।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ तारिखलाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन्।