बैतडी- सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेता दामोदर भण्डारी र तारा लामा तामाङ सार्वजनिक लेखा समितिमा समेटीएका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी र कञ्चनपुर- १ का सांसद तारा लामा तमाङलाई नेकपा एमालेले लेखा समिति सदस्यका सिफारिस गरेको बताइएको छ ।
प्रतिनिधि सभा अन्तर्गत एमालेको भागमा परेका विभिन्न संसदीय समतिका लागि प्रतिनिधित्व गर्ने सांसदहरुको नामावाली टुंग्याएको एमालेले जनाएको छ । नामावली संघीय संसद सचिवालयमा बुझाइएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई नामावली बुझाएका थिए ।
सार्वजनिक लेखा समितिमा भण्डारी र तामाङ बाहेक योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी र रुक्मणी राना बराइलीको नाम पनि पठाइएको छ ।
यस्तै पूर्वाधार विकास समितिमा बाजुराका समानुपातिक सांसद दयालबहादुर शाहीको नाम पनि पठाइएको छ । उक्त समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), प्रेमबहादुर महर्जन र राजकुमार गुप्तालगायतको नामावली पठाइएको छ ।