दार्चुला– दार्चुला हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ ।
बुधवार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।
दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा वैशाख १९ गते गएको हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए। ७ जनाले भागेर ज्यान जोगाएका थिए ।
उनीहरुलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो । यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरुमध्ये ५ जना हिमपहिरोमा बेपत्ता भएका थिए ।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर–५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकोमा बुधवार छिमीको शव फेला पारेको हो ।
यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ। पोस्र्टमार्टमका लागि छिमीको शव भारतको बाटो हुँदै जिल्ला अस्पताल दार्चुला आज (बिहीवार) पुग्ने प्रहरीले बताएको छ ।