अत्तरिया- सुदूरपश्चिम प्रदेशमा आइतवार आमहड्तालको घोषणा गरिएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सुदूरपश्चिममा आइतवार जेठ २८ गते आमहड्तालको घोषणा गरेको हो ।
संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै शालिन र अनुशासित ढंगले विरोधका कार्यक्रम गर्दापनि सुदूरपश्चिमेली जनताको मागप्रति सरकार उदासीन देखिकाले बाध्य भएर आम हड्ताल गर्नुपरेको उल्लेख गरिएको छ ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेयद्धारा जारी विज्ञप्तीमा आम हड्तालको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, वुद्धिजिवी, नागरिक समाज, सम्पूण राजनीतिक दलहरु र आम जनसमुदायको समेत ऐक्ववद्धता तथा समर्थन रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा बन्दको समयावधिमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला, ८८ वटै पालिकामा रहेका सम्पूर्ण कार्यालयहरु, यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय, निजी तथा सरकारी विद्यालयहरु लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिदिन अनुरोध गरिएको छ । आम हड्ताल गर्दा पनि माग सुनुवाई नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
