डडेल्धुराको पहिलो सामुदायिक रेडियो आफ्नो एफएमले प्रशारणको १५ बर्ष पुरा गरेको छ। रेडियोले बुधबार १६ औं वार्षिकोत्सब मनाएको रेडियोका स्टेशन प्रमुख सागर ताम्राकारले बताए।
वार्षिकोत्सवको अवसरमा रेडियोले डडेल्धुरा जिल्ला कारागारमा रहेका कैदिबन्दीलाई खाट, पुस्तक, रेडियो सेट उपलब्ध गराई सहयोग गरेको छ। रेडियोले पाँच वटा खाट, केही थान जीवन उपयोगी बनाउन पुस्तक, पाँच वटा सोलार एफएम रेडियो सेट लगायतका सामाग्री कारागारमा रहेका कैदिवन्दीलाई उपलब्ध गराएको रेडियोका स्टेशन म्यानेजर ताम्राकारले जानकारी दिए।
सञ्चार जगतले गरेको यो सहयोगले बन्दीहरुको जीवनमा सहजता ल्याउने कारागारका जेलर जितेन्द्र प्रसाद ओझाले बताए। उनका अनुसार कारागारमा हाल विभिन्न मुद्दामा १३४ कैदिबन्दीे कैद भुक्तान गरिरहेका छन।
आफ्नो एफएमले वार्षिकोत्सवमा गत वर्ष डडेल्धुराको वेथस्दा बालगृहका बालवालिका लाई सहयोग गरेको थियो। समाचार, सुचना, सन्देश प्रशारण गरि रेडियोहरुले आम नागरिकको जीवन शैली, समाजमा परिवर्तनका सन्दर्भमा आवाज उठाईरहेको छ।
मानव विकास तथा सामुदायीक सेवा (एचडिसिएस) द्धारा संचालित आफ्नो एफएम २०६५ सालमा स्वास्थ्य सचेतना फैलाउन स्थापना भएको डडेल्धुराको सबै भन्दा पुरानो एफएम रेडियो हो। हाल सम्म रेडियोले निरन्तर रुपमा समाचार, सुचना, सन्देश र मनोरञ्जनका कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ।
आगामि दिनहरुमा पनि समाज परिवर्तनमा जहिल्यै प्रतिबद्ध रहेको रेडियोले जनाएको छ।