बैतडी- नेपालले एसीसी यु १६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ ।
आज भएको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
योसँगै नेपालले यस प्रतियोगिताको उपाधिमा ह्याट्रिक पनि गरेको छ । सन् २०१७ र २०१९ को पनि च्याम्पियन नेपाल हो ।कोरोनाका कारण यो प्रतियोगिता विचमा आयोजना हुन सकेको थिएन ।
फाइनलमा नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४।५ ओभरमा ३१ रनमा अलआउट भयो ।
मलेसियाका मोहम्मद अक्रमले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।नेपालका अभिषेक तिवारीले ५ विकेट लिए ।
त्यस्तै सन्तोष यादवले ३ र सागर गैरेले १ विकेट लिए । बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो ।
नेपालका नरेन भट्टले ८९ बलमा अविजित १ सय १२ रन बनाए । उनी यो प्रतियोगितामा शतक बनाउने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । त्यस्तै, निरज यादवले ४७ रन जोडे ।