सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुरु

बैतडी -बैतडी सहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व शुरु भएको छ । यसअघि भदौ ७ गते गौरा नमनाएका ठाउँहरुमा सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको हो ।
यो वर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन् । केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने बाँकी ठाउँमा आजदेखि गौरापर्व शुरु भएको हो ।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै आजदेखि गौरा शुरु भएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो ।
गौरा पर्वको पहिलो दिन आज बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।
गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको दोगडाकेदार ३ का फुनडी विष्टले बताउनुभयो ।

सुदूरपश्चिमको मौलिक चाड समेत रहेको गौरापर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् ।
यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दिर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रही आएको छ ।
चारदिनसम्म मनाइने गौरापर्वको बैतडीसहित सुदूरपश्चिम प्रदेशभरी रौनकता छाएको छ । सुदूरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गर्दछन् ।

Leave A Reply

Your email address will not be published.