चितुवाले पुजालाई पाँच जनाको बीचबाट आक्रमण गरेको थियो

बैतडी । चितुवाको आक्रमणबाट पञ्चेश्वर गाउँपालिका ३ बगरेठीकी १७ वर्षीय पुजा लुहार गम्भीर घाइते भएकी छन्। पुजालाई आज मध्यान्ह साढे १२ बजेतिर घरनजिकै तालिगाडरोलमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको हो।

गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पुजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीन बहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो,“गाउँकै चार/पाँच जनासंगै घाँस काटिरहेकाी पुजाले चितुवाले आक्रमण गरेको रहेछ। आक्रमणपछि घिस्रेर लगेकी पुजाको अवस्था गम्भीर छ ।”

चितुवाले पुजामाथि आक्रमण गर्दा संगै घाँस काटिरहेकाहरुले हो-हल्ला गर्दा चितुवा पुजालाई छाडेर भागेको हो।

चितुवाको पुजाको घाँटी र शशिरका अन्य भागमा पनि आक्रमण गरेको र उनको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो।

घाइते पुजालाई उपचारको लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ल्याइदैछ। सडक सुविधा नहुँदा पुजालाई बोकेर सडक भएको स्थानसम्म ल्याउन ढिलाई भएको थियो।

दिउसैं चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन्। तल्लो स्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ।

Leave A Reply

Your email address will not be published.