आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ। ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो। हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ।
नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो राष्ट्रिय विज्ञान दिवस प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी, शिक्षक तथा विद्यार्थीलगायत विज्ञान प्रविधि प्रेमी सबैमा उत्साहको दिन रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्रालयका सह–सचिव विश्वबाबु पुडासैनीले यो वर्ष विज्ञान प्रविधि तथा नवप्रवर्तन प्रवद्र्धन गर्ने संघ र संस्थाहरुले विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको जानकारी दिनुभयो। मुख्य कार्यक्रम राष्ट्रिय प्रकृति संरक्षण कोषको हलमा हुँदैछ।
सरकारले यो आर्थिक वर्षमा अनुसन्धान र नवप्रवर्तनका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। कोष सञ्चालनका लागि मन्त्रालयले अनुसन्धान र नवप्रवर्तनसम्बन्धी कानुनी व्यवस्था गर्न विधेयकको मस्यौदालाई अन्तिम रुप दिने प्रकृया अगाडि बढाएको छ।