गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो
गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भूकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ गएको हो ।
प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको टोली पठाएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनु भयो । प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उहाँले जाजरकोट र रुकुमपश्चिमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताउनु भएको छ ।
‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न सङ्घसंस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौँ’ मुख्यमन्त्री पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताउनुभएको छ । शुक्रवार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका(१ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।