तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी वा पञ्चरंगी टीका लगाएर मनाउने गरिन्छ। भाइटीका लगाउँदा को कुन दिशामा फर्केर बस्ने भन्ने विधि पनि महत्वपूर्ण हुन्छ। भाइटीका लगाउनुअघि र लगाउँदा के कसरी गर्ने भन्ने विधि शास्त्रीय मान्यताका आधारमा गरिन्छ।
यसवर्ष टीका लगाइमाग्ने व्यक्ति (दाजुभाइ) पूर्व फर्किएर बस्ने र टीका लगाइदिने व्यक्ति ९दिदीबहिनी० पश्चिम फर्किएर दाजुभाइलाई टीका लगाइ दिनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति प्रा। डा। माधवप्रसाद भट्टराईले बताउनुभयो। विशेषगरि कता फर्किने भन्ने कुराको निर्धारण चन्द्रमाको अवस्था हेरेर हुने उहाँले बताउनुभयो।
यस्तै विधिपूर्वक भाइटीका लगाउँदा सुरुमा दियो, कलश र गणेशको पूजा गर्ने र त्यसपछि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। अष्टचिरञ्जीवीको पूजा दाजुभाईको दीर्घायूको कामना गर्न गरिन्छ।
यसैगरि चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ। साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूर्जा गर्नु पर्दछ। पूजा गरिसकेपछि दिदीबहिनीले दाजुभाइलाई बीचमा राखेर जल र तेलको धाराले घेर्नुपर्छ र यो घेराको धारा नटुटेको हुनुपर्छ।
यसपछि ढोकामा ओखर फुटाउने गरिन्छ। ओखर फुटाउनुको अर्थ अनिष्ट तत्व घरभित्र नपसोस् र दाजुभाइलाई कुनै पनि अनिष्टले दुःख नदिओस भन्ने हो। दाजुभाइको आयु लामो होस् भनेर यमराजसँग कामना गर्दै उनीहरुको निधारमा सप्तरंगी अथवा पञ्चरंगी टीका लगाउनु पर्छ।
खासगरि तिहारमा रातो, निलो, पँहेलो, हरियो र सेतो रंगको टीका लगाउने परम्परा छ। दाजुभाइलाई सात अथवा पाँच रंगको टीका लगाइदिएपछि उनीहरूलाई सगुनको रूपमा खानेकुरा दिनुका साथै विभिन्न फलफूल, मसला, सेलरोटीलगायतका मीठामीठा परिकार खुवाउने र उपहार दिने चलन छ।
यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार दिने गरिन्छ। साइतमा टीका लगाउनेका लागि यस वर्ष भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।