यूएईका लगानीकर्तालाई नेपालमा लगानी बढाउन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाण्डौ -प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेपालमा लगानी बढाउन संयुक्त अरब इमिरेट्स ९यूएई० का लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र दुुबई चेम्बरद्वारा संयुक्त रुपमा बिहीवार दुबईमा आयोजना गरिएको नेपाल यूएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गर्नुभएको हो ।

सम्मेलन यूएईमा रहेको नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो । यस अवसरमा यूएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताउनुभयो । उहाँले नेपाल र यूएईबीच सुमधुर सम्बन्ध रहेकाले व्यावसायिक सम्बन्ध पनि बलियो बनाउँदै लैजान तयार रहेको विश्वास दिलाउनुभयो ।

फोरममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि यूएईका लगानीकर्तालाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर जुटाउन आग्रह गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्तालाई नयाँ अवसर सिर्जना भएको बताउनुभयो । नेपालको ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिलगायत क्षेत्रमा लगानीको आकर्षण रहेको जानकारी लगानीकर्तालाई गराइएको थियो ।

आफ्नै आन्तरिक बजार तथा भारत र बङ्लादेशका क्षेत्रीय बजारमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिने जानकारी गराइएको थियो । त्यस्तै, नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, होटल तथा रिसोर्टलगायत पर्यटनसँगसम्बन्धी पूर्वाधारमा पनि लगानीको सम्भावना रहेको विषय फोरममा बताइएको थियो ।

यूएईका लगानीकर्तालाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसनलगायत पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.