बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिको निङलाशैनी क्रिकेट क्लब र दशरथचन्द एकेडेमी भिड्दैछन्। दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा एकेडेमीले टस जितेर ब्याटिङ गर्दैछ।
निङलाशैनीले त्रिपुरा क्रिकेट क्लबलाई हराएर फाइनल पुगेको हो र एकेडेमी एनआरवाइसी बठ्ठालाई हराएर उपाधि नजिक पुगेको हो। घरेलु मैदान र समर्थनको साथ र सहयोगमा एकेडेमी उपाधि उचाल्न चाहन्छ भने साविक विजेता निङलाशैनी उसको घरमै हराएर च्याम्पियन बन्ने दाउमा छ।
फाइनल खेल हेर्न सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल,नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोली सहभागी थिए।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले बताउनुभयो । यस्तै म्यान अफ द सिरिजलाई ५ हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई समान २हजार ५ सय पुरूस्कार दिइनेछ। प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।