डडेल्धुराको परशुराममा अनाथ तथा गरिब विद्यार्थीलाई झोला वितरण

बैतडी । डडेल्धुराको परशुराम नगरपालिका-८ वडा कार्यालय जमरानीले अनाथ टुहुरा तथा गरिब जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरेको छ।

वडा कार्यालयले शुक्रबार वैजनाथ माध्यमिक विद्यालय जमरानी र महादेव आधारभूत विद्यालय करेनीका विद्यार्थीलाई झोला वितरण गरेको हो। चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटअन्तर्गत अनाथ टुहुरा तथा गरिब जेहेन्दार विद्यार्थीहरूलाई झोला वितरण गरिएको वडाध्यक्ष दिनेश जोशीले जानकारी दिए।

सामुदायिक विद्यालयका विपन्न विद्यार्थीले झोला अभावमा कापीकिताब बोक्न समस्या हुने हुँदा थोरै भए पनि सहयोग होस् भन्ने ध्येयका साथ झोला वितरण गरिएको उनले बताए।

वैजनाथ माविका २२ र महादेव आविका १६ जना विद्यार्थीलाई झोला वितरण गरिएको वडा कार्यालयले जनाएको छ। वडाभित्रका बाँकी दुई विद्यालयलाई पनि केही दिनमै झोला वितरण गरिने वडाध्यक्ष जोशीले बताए।

Leave A Reply

Your email address will not be published.