झुलाघाट नाका अबदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बेलुका ७ बजेसम्म खुल्ला रहने भएको छ। पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकमा सीमानाका बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । यसअघि यो नाका बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै खुल्ने गरेकोमा १ घण्टा थप खुला रहने भएको छ।

यस्तै बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताका बारेमा छलफल भएको छ। छलफलपछि भारतमा अप्रिलमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ७२ घण्टा अगाडी सीमा नाका बन्द गर्ने दुवै देशका अधिकारीहरुबीच सहमति भएको जनाएको छ।

यसका साथै दुवै देशका सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोक लगायतका बिषयमा बैठकमा छलफल भएको छ।

बैठकमा भारतीय पेन्सनधारी नेपालीहरूलाई सहजता गर्ने, सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध बिषयमा छलफल समेत बैठकमा छलफल भएको छ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो। यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डे लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.