बैतडी : धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका ट-(२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका खेलमा परशुराम नगरपालिका र पुनर्वास नगरपालिका विजयी भएका छन्। परशुराम नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई ४ विकेटले हराउदा धनगढी उपमहानगरपालिकालाई ४ रनले स्तब्ध पार्दै पुनर्वास नगरपालिकाले जित हात पार्यो ।
परशुरामले दिएको १६८ रनको लक्ष्य पछ्याएको लम्की चुहा १८।५ ओभरमा १३५ रनमा समेटियो। उसका मेट्रिक्स थापाले ५४ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।परशुरामका कृष्ण विष्टले २ विकेट हात पारे। यसअघि कैलालीको फाप्ला क्रिकेट मैदान पहिला ब्याटिङ गरेको १९।१ ओभरमा १६७ रनमा समेटियो।जसमा राज विकले ५१ रन हिर्काए। म्यान अफ द म्याच भएका राजले ३९ बलमा ७ चौका हाने।
यस्तै आजै भएको अर्को खेलमा धनगढी उपमहानगरपालिकालाई ४ विकेटलाई स्तब्ध पार्दै पुनर्वास नगरपालिका विजयी भयो। जितका लागि पाएको १०० रनको लक्ष्य पछ्याएको धनगढी १९।५ ओभरमा ९५ रनमा अलआउट भयो। जसमा सुभाष सिंहले २७ रन हाने। पुनर्वासका लागि विक्रम ठगुन्नाले ४ विकेट हात पारे । त्यसअघि पहिला ब्याटिङ गरेको पुनर्वास १८।४ ओभरमा ९९ रनमा रोकियो। जसमा आयुव चन्दले २३ रन बनाए। धनगढीका लागि रोशन रावलले ३ विकेट लिए।
पुनर्वासका विक्रम म्यान अफ द म्याच चुनिएका स्कोरर नुरेन अन्सारीले जानकारी दिनुभयो । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागीता रहेको छ।
प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो। उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएको छ। यो प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघको विश्वास छ।
