धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह ए बाट आज डडेल्धुराको आलिताल गाउँपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तिम चारमा पुगेसंगै सेमिफाइनल समीकरण पूरा भएको हो।
आज सम्पन्न लिग चरणको अन्तिम खेलमा आलितालले पुनर्वासलाई ४ विकेटले हरायो। पुनर्वास आज पराजित भएपनि यसअघिका २ खेल जितेकाले अंकतालिकाको दोस्रो र ३ खेलबाटै २ जित हात पारेको आलिताल नेटरनरेटमा शिर्ष स्थानमा रहदै सेमिफाइनल पुगे।
यस्तै समान ३ खेलबाट २ खेल जितेका टिकापुर र घोडाघोडी नगरपालिका भने नेट रनरेटमा पछि परेपछि प्रतियोगिताबाट बाहिरिए। यसअघि समूह बी बाट डडेलधुराको परशुराम नगरपालिका र डोटीको शिखर नगरपालिका सेमिफाइनलमा पुगिसकेका छन्।
जितका लागि पाएको १०३ रनको लक्ष्य आलितालले १७।३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा राजु रिजालले सर्वाधिक ३५ रन बनाए। पुनर्वासका सचिन भट्टले २ विकेट लिए। त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पुनर्वास १९।२ ओभरमा १०२ रनमा समेटियो । उसका विपिन रावलले २४, यम कार्कीले २१,निशान्त बुढाऐरले १७ रन बनाएपनि अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । आलितालका लागि ३ विकेट हात पारेका विरेन्द्र चन्द म्यान अफ द म्याच चुनिएका स्कोरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।
प्रतियोगिताका सेमिफाइनल खेलहरू भोलि हुनेछन् । पहिलो सेमिफाइनल खेलमा आलिताल र शिखर भिड्दा दोस्रोमा पुनर्वास र परशुराम आमनेसामने हुनेछन्। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागीता रहेको छ।
प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो। उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएको छ। यो प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघको विश्वास छ।