बैतडी : नेपाली कांग्रेस बैतडीले पालिकासंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला कार्यसमितिले पालिका कार्यसमितिसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताउनुभयो।
नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको नेतृत्वमा जिल्लाका १० वटै स्थानीय तहमा रहेका गाउँ र नगरकार्यसमितिसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको हो।
हालसम्म जिल्लाको पाटन नगरपालिका,सुर्नया र दोगडाकेदार गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ। संगठन सुदृढीकरण, क्रियाशील सदस्यता र पार्टी बलियो बनाउनेबारे अन्तरक्रियामा छलफल भइरहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताउनुभयो।
दोगडाकेदारमा सम्पन्न अन्तरक्रियामा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले कांग्रेस जिम्मेवार पार्टी रहेकाले एकढिक्का हुनुको विकल्प नरेहेको बताउनुभयो। उहाँले भन्नुभयो, पार्टी बलियो हुन एकढिक्का हुन आवश्यक छ। गुट उपगुट अन्त्य हुनुपर्दछ।
संगठनलाई चलायमान बनाउन अन्तरक्रिया, छलफल, प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउदै सभापति चन्दले युवाहरूको कांग्रेस प्रति आकर्षक बढाउनुपर्नेमा जोड दिनुभयो। जनप्रतिनिधि बन्न जुनसुकै पार्टीबाट चुनाव लडेपनि जितेपछि सबैको अभिभावक बन्नुपर्ने उहाँले बताउनुभयो। दोगडाकेदार गाउँकार्यसमितिको कार्यालय श्रीकोट खिरेगाउँमा पार्टीका पालिका सभापति नन्दराज भट्टको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा जिल्ला कार्यसमितिका सभापति चन्द,पुर्व सभापति नरेन्द्रसिंह थापा,सचिव देवराज जोशी,सहसचिव दिपेन्द्र चन्द र पार्टीका पालिका कार्यसमिति, भातृ,सुभेच्छुक संस्थाका प्रतिनिलगायतको उपस्थिति रहेको थियो।