स्थानीयस्तरबाटै खेलाडी उत्पादन गर्न सरकारकाे ध्यान जान आवश्यक: राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बतानउनु भएको छ ।

राष्ट्रपति पौडेलले दशरथ रंगशालामा आयोजित १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मङ्गलबार उदघाटन गर्दै गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । देशको खेलकुदको एउटा मुख्य आधारकारुपमा यो प्रतियोगिता अगाडि बढ्दै जानु सन्तोषको विषय रहेको उहाँको भनाइ थियो।

‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्, कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ’, राष्ट्रपति पौडेलले भन्नुभयो,“ अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने आधार हुन्, साथै विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् भन्ने मलाई लाग्छ।”

उहाँले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन सक्दैन भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, सृजनात्मक सिकाई र गरिखाने पुस्तकविहीन शिक्षाको पनि जरुरत पर्दछ भन्नुभयो । “मेरो विचारमा खेलकुद र यस्ता प्रतियोगितात्मक क्रियाकलाप यसैतर्फका उन्नत सिकाइ विधि हुन्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार हो भन्दै उहाँले विद्यार्थीहरू खेलकुदमा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुनेमात्र होइन यसले उनीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकको प्रगतिमा पनि सहयोग पु¥याउन मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति पौडेलले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन र पुरस्कार तथा आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खेलको विकासमा सरकार र सरोकारावालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो। “विशेषतः खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय तह र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ, खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ भन्ने लाग्छ”, उहाँले भन्नुभयो।

उहाँले खेलकुदमै लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सुजना गर्नुनै आजको आवश्यकता हो भन्नुभयो । साथै देश विदेशमा हुने प्रतियोगिता र प्रतिस्पर्धाले हाम्रो खेलको स्तरमा विकास गर्ने भएकाले यसतर्फ पनि खेलसम्बद्ध संस्थाहरूले विशेष चासो दिने उहाँले विश्वास व्यक्त गर्नुभयो।

खेलमा सहभागी विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुन सक्छन् भन्दै उहाँले यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो भन्नुभयो । “खेलकुदले समग्र शिक्षा योजनामा विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउँन अभिप्रेरित गर्दछ, देशको समग्र विकास, समृद्धि र प्रगतिमा पनि विद्यार्थीको अग्रणी र महत्वपूर्ण भूमिका हुन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो।

स्कुल कलेजमा हुने खेल प्रतियोगिता विद्यार्थीबीचमा सामूहिकता, सहभागिता र उत्साह जगाउने र शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सफल बनाउने साध्य भएकाले शिक्षा र खेलकुदबीच अद्भूत सम्बन्ध हुन्छ जसले जीवनभर सफलताको खोजी गर्न बाटो देखाउँने उहाँले विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले यस्ता प्रतियोगिता शिक्षणसिकाइका अङ्गकै रूपमा सबै विद्यालयमा सञ्चालन हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले विद्यालय तहमा केन्द्रित रहेर खेल प्रतिभाको खोजी गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भई राष्ट्रको छवि उच्च बनाउन योगदान पु¥याउन सक्ने खेलाडी तयार गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना हुनु प्रशंसनीय कार्य हो भन्नुभयो।

राष्ट्रपति पौडेलले देशभरिका विद्यार्थीबीचको यस खेलकुद प्रतियोगिताले विद्यार्थीमा उत्साह र प्रेरणा प्रदान गरेको तथा यसले खेलमा सहभागी हुने विद्यार्थीको नेतृत्व क्षमता विकास गरेको छ, जुन भविष्यमा देश निर्माणको जग हो भन्नुभयो । “तपाईहरूको खेलप्रतिको दृढ इच्छा र सङ्गठनशक्ति विद्यालय र त्यस क्षेत्रको मात्र नभई मुलुकको समृद्धि र सफलताको अग्रगामी प्रयत्न बन्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु”, उहाँले भन्नुभयो।

Leave A Reply

Your email address will not be published.